Thursday, December 27, 2012

हरसाँझ...

हरसाँझ बोतलहरु रित्तिदैछन अचेल
प्यास जवानीको मेटिदैछन अचेल

पिउछु बेहोशीमै डुब्छु म नशामा
जिउने रहरहरु रेटिदैछन अचेल

जति हिड्दै जान्छु गोरेटो जिवनको
मान्छे नाना-थरि भेटिदैछन अचेल

उ भन्थ्यो म सुन्थे प्रीतका कथाहरु
स्मृतिका पन्नाहरु च्यातिदैछन अचेल ।।

मेरी आमा !!!

मेरो शान
मेरो गौरब
मेरो सहारा
मेरो चिनारी
मेरी आमा
अचेल
संसार सामू
घुम्टो ओढेर
आफैलाई लुकाउने
प्रयास गर्दैछिन
आफैले जन्माएका
आफ्नै काखमा हुर्किएका
नाबालकहरू
ढाडे बनिसकेपछी
आफै आफैमा
लुछाचुंडी गर्दैछन
आफ्नै आमाको
ममतामयी छाती कुल्चेर
तँ तँ र म म को बादबिबाद
तेरो र मेरोको होडबाजिमा
दिनरात लागिरहेछन
थुईक्क !
तिनीहरूलाई के थाहा
आमाको हृदय
सन्तानहरूको ममताले
भतभती पोलिरहेको!
फेरि पनि
क्रुर निर्दयी निर्लज्ज सन्तानहरू
उनको त्यो सुकोमल शरीरलाई
बगरेको दोकानमा राखेर
प्रतिस्पर्धा गर्दैछन
टाउको मेरो भाग
खुट्टा तेरो भाग
त्यो बिशाल छाती
चोटैचोटले भरिएको छ
बिचरी मेरी आमा!
रगतको आहालमा डुबेर पनि
चुपचाप सहेकी छिन्
मात्र ,
आफ्नै सन्तानहरूको
खुशीको नीम्ति ।।

Monday, August 01, 2011

*हाइकु*

झरेको फूल
ओईलाउनु देउ
प्रकृति यस्तै ।


गुराँस फुल्यो
बैशालु पाखाहरु
गुलाबी ओठ ।


टुक्रै टुक्रामा
बिभाजित जिन्दगी
काँचको फूल।


ब्यूटी कन्टेष्ट
भ्यागुतोलाई चस्मा
मट्याङ्ग्री कान्छी ।


मिठो चुम्बन
सर्माएकी क्षितिज
धर्ति आकाश ।

Thursday, May 12, 2011

शहर छोडेर आएँ..

शहर छोडेर आएँ
पाईला मोडेर आएँ

धर्ती आकाशको दुरी
नाता जोडेर आएँ

फूल्नै बाँकिथ्यो फूल
पालुवा गोडेर आएँ

जीवन मृत्‍युको साथ
बाचा तोडेर आएँ

ब्यर्थै भेटियौ किन?
प्रश्न सोधेर आएँ ।।

Tuesday, February 22, 2011

एक टुक्रा ...

रेटियोस घाँटी म मर्न तयार छु
बाँच्नुको के अर्थ म मर्न तयार छु

हाँसेरै मर्छु, श्वास रोकिदिन्छु
गर्दिन संघर्ष म मर्न तयार छु

बिछोडका पलमा झार्दिन आँशु
कठोर छ दिल म मर्न तयार छु

चिरेर छाती छरिदेउ नुन-चुक
दुख्दैन अब म मर्न तयार छु

जे पाउनु खुशी पाईसके सबै
पश्चाताप छैन म मर्न तयार छु ।।

म जून खोजिरहेछु ...

म जून खोजिरहेछु
प्रभातमा
म फूल खोजिरहेछु
सुवासमा
जहाँ
प्रभाती किरणहरुले
जूनको अस्तित्व
छोपिसकेका हुन्छन्
जहाँ
सुवास छर्ने फूलहरु
ओईलिएर
झरिसकेका हुन्छन्
उफ!
म अवाक हुन्छु
मेरा असफल प्रयास
निरर्थक खोजी
असन्तुलित मन
भित्र-भित्रै
निराशाले जलिरहन्छ
एक्कासी
हावाको एक झोका
मेरो मन मस्तिष्क
अनि
कन्चटमा
नराम्ररी बज्रिन पुग्छ
म सपनाबाट ब्युँझिएसरी
आँखा मिच्दै
वास्तविकताको अबलोकन गर्छु
अहो!
बितेका ति सुन्दर क्षणहरु
मात्र सपना हुन
तिमी देख्न सक्छौ
तर, पाउन सक्दैनौ
मात्र कल्पना हुन
तिमी सोच्न सक्छौ
तर, छुन सक्दैनौ
त्यसैले
भूलिदेउ
ति जूनका
शितल छाँयाहरु
बिर्सिदेउ फूलका
मीठा सुवासहरु
तिमी बर्तमानमा जिउनुछ
प्रभाती किरणहरुका
स्पर्श सँगै
तिमी यथार्थमा बाँच्नु छ
सुन्दर फूलहरुको
अनुपस्थितीमा ।।

Wednesday, August 11, 2010

ओ प्रिय

ओ प्रिय
तिम्रै यादहरुमा बगेका
बलिन्द्रधारा
आँशुहरु
यदि
सक्छौ भने
त्यही तिम्रा
मायालु हत्केलाहरुले
पुछिदेउ
फुकाउनै नसक्ने
मायाका गाँठोहरु
करौंतीको धारले
टुक्रै-टुक्रामा
क्षतबिक्षत
रेटिदेउ,
पलपल झस्क्याईरहने
तिम्रा ति
तस्बिरहरु
यि नयनहरुबाट
नदेखिने गरि
मेटाईदेउ
किनकी
म सक्दिन
सधैसधै
तिम्रै
यादहरुमा
छट्पटिएर
जिन्दगी जिउन
मृत्युपर्यन्त
मनका जलनहरुले
एकान्तमा एक्लै
पागल सरि
बर्बराउन
अनि
तिमीबिनाको
निरस निरस
असह्य क्षणहरुको
कल्पना गर्न।।

-nilima

Thursday, July 22, 2010

मन

अचानोमा राखेर मन आफै टुक्रा पार्दा खेरि
गाह्रो हुँदो रै'छ बाँच्न आफै सँग हार्दा खेरि

आँशु झर्दा आँखाबाट खहरे नै बने होलान
फुट्दो रै'छ मनको बाँध मनकै डुँगा तार्दा खेरि

नबुझिने जालो जस्तै बेह्रिएको जिन्दगानी
टूट्दा रै'छन सपनाहरु मनको बस्ती बार्दा खेरि

हत्केलामा दियो बाली अन्धकारलाई चिर्न खोज्दा
जल्दा रै'छन आशाहरु आफ्नै मनलाई खार्दा खेरि

कोमल मुटु टुक्रिएर छिया-छिया हुँदासम्म
दुख्दो रै'छ आफैलाई, आफैले नै मार्दा खेरि ।।

-nilima

Tuesday, May 18, 2010

माया

पिंडामा हुन्छ माया
जलनमा हुन्छ माया
जलेर मुटु खरानी हुँदा
छातिमा दुख्छ माया

आँशुमा हुन्छ माया
ब्यथामा हुन्छ माया
दर्दले छाति चिरिएर
एकान्तमा दुख्छ माया

बिरहमा हुन्छ माया
बेदनामा हुन्छ माया
आँशुले सागर भरिदिंदा
सम्झनामा दुख्छ माया

फूल झैं रुन्छ माया
बतासमा उड्छ माया
सपनाको महल भत्किए सरि
चर्केर दुख्छ माया।।।

-nilima