Wednesday, September 17, 2008

म अनि मेरो नेपाल

पतझरले नङ्ग्याएको ठूटाहरुमा
डढेलोको रापहरुले पोलिरहे झैं
भयानक ज्वालामूखीको बिष्फोटन अनि
भूकम्पले भत्क्याएको बस्तीहरु माझ
तिमी छौ, म छु अनि मेरो देश छ!

चह्रयाईरहेका मुटुका चोईटाहरुमा
खोर्सानि र नून-चूक खन्याईरहदा
छट्पटिएको यो आत्मा लर्खराए झैं लाग्छ,
फेरि, बिषालु किटाणुहरुले प्रबेश गरिसकेछन् क्यारे!
अहो! भित्र-भित्रै ब्यथाहरु दुखिरहेछ!

तिमीलाई मलाइ अनि मेरो देशलाई
अचेल एउटै नराम्रो रोगले छोएको छ,
झाडा पखाला र टाईफाईड मात्र होईन
क्यान्सर र एड्स भन्दा पनि खतरनाक
दिनहु नेपाल बन्दको रोग लागिसकेको छ!

अब त धामीहरुले भूत तर्साउन छाडिसकेछन्
डाक्टरहरु सडकमा टायर बालिरहेकाछन्,
भोलिको आशामा बाँचेका निर्दोष आत्माहरु
महंगि र अभाबमा पिल्सिएर चिच्याई रहेकाछन्,
के यहि नै हो त!तिमीले मैले अनि मेरो देशले रोजेको
सुन्दर शान्त नेपाल???

-निलीमा

Tuesday, June 03, 2008

मान्छे र सपना ।

-उषा
हरेक मान्छे सपना बोकेर बाँच्छन ।
हरेक मान्छे सपना लिएर मर्छन ।

सपना छ र त भागदौड छ,
सपना छ र त प्रतिस्पर्धा छ,

सपना छ र त जिन्दगी छ ।
सपना न भए तिमी कहाँ हुन्थ्यौ?
सपना नभए म कहाँ हुन्थें?
सपना नभए हामी कहाँ हुन्थ्यौ?

यी मोटर, रेलगाडी, पानीजहाज र कम्प्युटर
यी हवाइजहाज, रकेट, टेलिफोन र टेलिभिजन
यी सबै मान्छेका सपना नै त हुन ।
यी सबै मान्छेका सपना नै त हुन
यी सबै मान्छेका कल्पना नै त हुन ।

सपनाले नै मान्छेलाई चन्द्रमा सम्म पुर्यायो
सपनाले मान्छेलाई अझ कहाँसम्म पुर्याउने हो!
सपना छ र त जिन्दगी छ
सपना छ र त जिन्दगी छ
सपना छ र त चिन्तन छ
सपना छ र त सबथोक छ ।

Thursday, May 29, 2008

rahar

हजार फूले फूलहरु
एउटै फूल राम्रो लाग्यो
देख्दा उसको सुन्दरतालाई
बाँच्ने रहर अझै जाग्यो

सप्तरंगि रूप उसको
भमरा नै बनुं जस्तो
उसकै लागि जन्मे म त
उसकै लागि मरुं जस्तो

मायालु ति नयनहरु
मुटु छुन आए जस्तो
फर्फराउने ओंठहरु
लाली रंग छाए जस्तो

आकाश बनि उनीलाई नै
हेरिरहुं जस्तो लाग्यो
क्षितिज सरि बादललाई
चुमिरहुं जस्तो लाग्यो।।
-निलीमा

timilai

छङछङ गर्ने छहराले मनको गीत गाउन थाले
क्षितिजमा कोईलीहरु चोखो प्रीत लाउन थाले
खोज्दा खोज्दै तिमीलाई आँखाबाट हराईगयौ
थुन्न खोज्दा आकृति त्यो अद्रिश्य भई टाढा भयौ

हृदयको किनारामा तिम्रो नाम लेखेकी छु
परेलीको चौतारीमा तिम्रो साथ मागेकी छु
कहाँ गयौ प्रिय तिमी सपनीमा किन आयौ
झूठो भए तिम्रो माया झूठो कसम किन खायौ

अंगालोमा बाँधिदिन्छु छेउ आई बसिदेउ
आँशु पनि रित्तिसक्यो अब धेरै नरुवाउ
चर्किएको सिसा भन्दा मुटु धेरै चर्किसक्यो
फूटाईदिनै बेश होला अस्तित्व नै के पो रह्यो।।
-निलीमा

Monday, April 28, 2008

यात्रा यो जिवनको........!!!

म जिवनको यात्रामा निस्केको यात्री
भिरपाखा र गोरेटोहरु पार गर्दै
बर्षातको झरी र खहरेको भेल सँगै
अनन्त अनन्त यात्रामा डौडिरहेको हुन्छ,

कहिले म पहाडको चौतारीमा पुग्छु
कहिले मधेशको झुपडीहरुमा हुन्छु
कहिले मरुभूमीमा भागिरहेको मान्छे
थकान र प्यासले छटपटाईरहेको हुन्छु,

कहिले झरीले म रुझेको हुन्छु
कतै भञ्ज्याङहरुमा म अल्झिरहेको हुन्छु
पलपलहरुमा आउने बाधाहरु सँगै
हर घुम्तिहरुमा म अलमलिईरहेको हुन्छु,

क्षितिजमा पुगिसकेका यि नयनहरु
केहि क्षणको लागि बिसाउन खोज्छु
सिरसिरे हावाको स्पर्शहरु सँगै
गन्तब्य यो यात्राको म खोजिरहेको हुन्छु।।
-nilima