Tuesday, May 18, 2010

माया

पिंडामा हुन्छ माया
जलनमा हुन्छ माया
जलेर मुटु खरानी हुँदा
छातिमा दुख्छ माया

आँशुमा हुन्छ माया
ब्यथामा हुन्छ माया
दर्दले छाति चिरिएर
एकान्तमा दुख्छ माया

बिरहमा हुन्छ माया
बेदनामा हुन्छ माया
आँशुले सागर भरिदिंदा
सम्झनामा दुख्छ माया

फूल झैं रुन्छ माया
बतासमा उड्छ माया
सपनाको महल भत्किए सरि
चर्केर दुख्छ माया।।।

-nilima

Thursday, May 13, 2010

ए जून...

ए जून नझुल्किदेउ तिमी रातहरुमा
उज्यालो संसार म देख्न सक्दिन

मुस्कुराउने ति फूलहरुमा
तिम्रो किरणलाई, म छेक्न सक्दिन

अंधेरी हेर्न अभ्यस्त यी नयनहरु
उज्यालोमा तिमीलाई, म देख्न सक्दिन

पूर्णिमाको रातमा कोरिएका कथाहरु
बिहानी सम्ममा म लेख्न सक्दिन

हिरा झैं टल्किने तिम्रो त्यो मुहार
हत्केलाले केही गरि म छेक्न सक्दिन

कति लगाउँ यो मनमा तगारोहरु
तिमी बाहेक अन्त, म देख्न सक्दिन ।।

-nilima

Friday, May 07, 2010

माया

सधैं-सधैं न्यानो माया गरि राख यसरी नै
नयन भरि माया साँची हेरि राख यसरी नै

टाढा हुन सक्दिन म तिमीबाट एकै पल
मायालु त्यो अँगालोमा बेह्रि राख यसरी नै

सारी, चोली, मखमली अरु केही चाहिदैँन
मायाजालको पहाड बनाइ घेरि राख यसरी नै

तिम्रो माया मेरो खुशी तिमी भए पुग्छ हजुर
हृदयमा मेरै नाम केरि राख यसरी नै

असम्भव नै देख्छौ भने हाम्रो माया प्रिती अझै
अप्ठ्यारा ति बाटाहरु फेरि राख यसरी नै ।।

-nilima

Thursday, May 06, 2010

गजल

गोरी थिएँ हिजोसम्म तिम्रै लागि काली भएँ
आशै-आशले भरिएको बेमौसमको बाली भएँ

चोखो माया तिम्रै अघि थुपारेर राख्न खोज्दा
सारा गाउँ शहर माझ बेइमानी र जाली भएँ

छाडि गयौ तिमीले पनि बिर्सिदियौ बाचाकसम
मिर्मिरे मै झरिजाने पारिजातको डाली भएँ

जिन्दगीलाई हरियाली सम्झिनु नै ब्यर्थ थियो
जहाँ टेक्यो पहिरो जाने गैह्रीखेतको आली भएँ

भाग्य लेख्नै भूलेछन कि बिधाताले मेरो लागि
बटुवाले कुल्चि हिड्ने मगन्तेको थाली भएँ ।।।

-nilima

Sunday, May 02, 2010

तिम्रै प्रतिक्षामा

एक्लो एक्लो
गोरेटोहरुमा
अल्मलिदै अल्झिदै सम्हालिदै
म भागिरहेछु
हिड्डा हिड्डै
यि पैतलाहरु
लर्खराएर आफै
पछारिन्छु
मनै भरि
तर्कबितर्कहरुको
हुरि चल्छन
रुखहरु ढल्छन
शून्य-शून्य हुन्छ
जताततै
लाशहरुको थुप्रो लागे झै
यो मनमा फेरि
त्यहि तर्कबितर्कहरुले
राज गरिरहेका हुन्छन
म एक्लो हुन्छु
नितान्त एक्लो
आँशु लट्पटिएका
नयनहरुले
तिमीलाई नै
खोजिरहेका हुन्छन
मुटु यो पिंडाले जलिदिन्छ
खरानि हुन्छ
सबै सपनाहरु
त्यै पनि
क्षणिक खुशी
अनि
तिम्रै प्रतिक्षामा
म बाँचिरहेको हुन्छु ।

-nilima