Saturday, November 21, 2009

दिवास्वप्न

पोख्नै नसक्ने
भावनाहरु
जुध्नै नसक्ने यि नयनहरु
भेटिएर छुटिदा सम्म
साटिनै नसक्ने यि दिलहरु
कति कठोर छन् आफैमा
कति कमजोर छन् आफै भित्र
अनि कति चञ्चल छन्
आफूहरु नै,
थाहै नपाई
यो आत्मा सँगै
टासिएका मायाहरु
मिठो बोलिमा, अल्झिएका रातहरु
बोल्दा बोल्दै बाँकिरहेका
मनका भावहरु
अझै अझै बोलिरहुँ
अनियन्त्रित चाहनाहरु
समयको सिमाले
घण्टी बजाएर ब्रेक लगाईदिदा
उफ! फेरि बितिसकेछ
अन्तिम प्रहर!
अब बिहानी हुन्छ
सुर्य उदाउछ
देख्नै नभ्याएका सपनाहरुको
पूर्णबिराम लगाउनुछ
तर,
थाह छैन खै!
म सक्छु या सक्दिन
दिवास्वप्नमा
उ सँग आँखा जुधाएर
मनमा तैरिएका, छालहरु ब्यक्त गर्न
सधै-सधै माया गर्ने नटुट्ने बाचा गर्न
अनि त्यो आकृतिलाई
हृदयमा कैद गर्न ।।।

-nilima

Sunday, November 08, 2009

कस्तो होला?

-स्पाईनी

कस्तो होला शहीदझैं बोल्दा बोल्दै मर्न पाए
कस्तो होला पारीजातझैं फुल्दा फुल्दै झर्न पाए?

आर्यघाटमा दाउरा जोडी चिता आफ्नै बनाएर
कस्तो होला आफ्नै हातले अन्तिम संस्कार गर्न पाए?

मृत्‍युशैय्याको प्रखर रापमा लाश आफ्नो जलाएर
कस्तो होला बागमतीमा अस्तु आफ्नै छर्न पाए?

किन आज जिन्दगी यो असह्य बोझ लागिरा'छ
कस्तो होला संसार छाडी परलोकमा सर्न पाए?

कस्तो होला शहीदझैं बोल्दा बोल्दै मर्न पाए
कस्तो होला पारीजातझैं फुल्दा फुल्दै झर्न पाए?

Sunday, August 30, 2009

हाइकु

खुत्रुक्कै पर्‍यो
माओवादी सर्कार
घाईते नेता ।

जति चपायो
गिरिजा चुईगम
त्यति नै चाम्रो ।

रमैलो मेला
चटकीको बाँदर
नेपाली जन्ता ।

सार्कीको गाली
गाई मर्ने भए त
गिर्जा बा मर्थे ।

-nilima

Saturday, July 25, 2009

-बेश्या-

खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरुमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, गल्ली चोक चौताराहरुमा
लीलाम बिक्रिमा आफैलाई बेचें
म रित्तिसकेकी थिएं
म थोत्रिसकेकी थिएं
तर म मा अझै
चेतना बेचिन बांकी थियो
यि अस्थिपञ्जरहरु
एउटा कृतिम ह्यांगरमा झुण्ड्याइरहें
आउने जानेहरुले ओल्टाए पल्टाए
हेरे छामे अनि बाटो लागे
कसैले यो खोक्रो शरीर
सधैंको लागि किन्ने आँट गरेन
हुरी बतासमाझ लट्किरहेको शरीर
मक्किएको कहिल्यै याद भएन
म टुक्रिएर झर्न थालें
ग्रिष्म ऋतुको चर्को घामले
दिनहु सड्न थालें
मलाई थाहा थिएन
म दुर्गन्ध फैलाइरहेकी छु
टोलछिमेकमा झुण्डिनै नसक्ने गरि
बाटो बस्तिहरुमा नअटाउने गरि
म भित्रभित्रै कुहिसकेकी छु
अर्धमुर्छनामा जब आँखा खुल्यो
म दैलो दैलोहरुमा बेचिदै थिएं
कोही आए गए
उन्मात बैशको सदुपयोग गरे
म चुपचाप उनैलाई हेरिरहेकी थिएं
जीवनको अनौठो यात्रा
उनी आए हात समाए
धेरै माया दिए
उनकै अनुरोधमा फेरि
कैयौ पटक बेचिएं
तर थाहै नपाई
म मा कलंक लागिसकेको रहेछ
कहिल्यै नमेटिने
अनि
भूल्न नसक्ने कलंक
बेश्या! बेश्या!! बेश्या!!!
हो म एक,
बेश्या बनिसकेकी रहेछु ।।।

-nilima

Sunday, July 12, 2009

यादहरुले नसताउ

मायालु ति आँखाहरु छल्किएर नबगाउन
सम्झना यो परेलीमा कोशी बनाइ नभत्काउन
दुख्छ मुटु घरिघरी प्यास बनी न सताउन
मरु सरि यो मनलाई आशा अरु नदेखाउन

चर्किएको यो छातीमा भाला रोपी नदुखाउन
फाटेका यि मनहरुलाई चिथोरेर नतड्पाउन
रुन्छ आत्मा त्यसै-त्यसै अब धेरै नरुवाउन
खहरे झैं जिन्दगी यो समुद्रमा न मिसाउन

टुट्ने सपना देख्दिन भो अन्ध्यारोमा नहराउन
आँधी आई उडाईलाने मनको बस्ती नबसाउन
भाग्य रैछ रित्तो-रित्तो मायाको फूल नफूलाउन
बाँच्न साँच्चै गाह्रो रैछ याद हरुले नसताउन ।

-nilima

Wednesday, June 10, 2009

आधा/आधा

एउटा हड्डी देख्न पाए हजार आउछन ब्वाँसाहरु
जनताले नगर्नु है अब केही आशाहरु
राम्रा मान्छे मरिसके बाँकी रहे लाशहरु
आर्यघाटमा पुर्याउ भन्छु थोरै भए बाँसहरु

हर दशकमा पल्टिरहन्छन सत्ताका पासाहरु
कोशी भेलले बगाइ लग्यो जनाताका आशाहरु
कति राख्नु दबाएर मन भित्रका त्रासहरु
भत्काइदिउँ झै लाग्छ आजै नेता बस्ने बासहरु

बिदेश घुम्छन काटी काटी जनताका गाँसहरु
नेता रुपी जनावरले सिध्याईसके घाँसहरु
देश खोक्रो परिसक्यो छैन तिनलाई लाज अरु
लुकी छिपी कुर्सिमा नै सिलाउदै छन बासाहरु !!!

-spiny ra maile aadha/aadhaa lekheko.

Sunday, May 31, 2009

हाइकु

अध्यारो गल्ली
कानेखुशी सुनिन्छ
मान्छेको मूल्य

सुन्दर रूप
हेर्दा झकिझकाउ
भित्र चै खोक्रो

सांझ बिहान
गरीबी चिच्याउछ
अभागि चुल्हो ।

-nilima

Friday, April 03, 2009

गजल

तिमी सँगै बिताएका रात मीठो लाग्यो
सधै-सधै सुनिरहुँ बात मीठो लाग्यो

अंगालोमा बाँधिएर बिते कैयौं पलहरु
न्यानो-न्यानो घाम जस्तै साथ मीठो लाग्यो

सर्माएर झुकिदिने लजालु ति नयनहरु
प्याला-भरि जवानीको मात मीठो लाग्यो

रिसाएझैं गर्यौ तिमी झर्किएर कोल्टे फेर्यौ
जानी-जानी पिरतीको घात मीठो लाग्यो

सम्झनाको तरेलीमा छाल बनि तैरिदिने
मोहिनी-रूप मायालुको जात मीठो लाग्यो ।।।

-nilima

Wednesday, March 18, 2009

तिम्रै काली

ऐनामा देखिने आकृतिहरुमा
चियाएर आफैलाई हेरि रहें
सुन्दर कालीहरुको प्रतिबिम्ब माझ
म तिम्रै कालीलाई खोजिरहें

तिम्रो काली स्वर्गकी अप्सरा हुन कि
सृष्टी कै सुन्दर रचना पो हुन कि
स्‍मृतिका छालहरुमा पौडिएर आफै
सम्झनामा तिम्रै बाँचेकी पो छिन कि

म मौनतामा अझै अल्झि रहें
कल्पनामा आफै हराई रहें
तिम्रो त्यो हृदयमा सजिएकी काली
म तिम्रै नयनहरुमा खोजि रहें

तर भेट्नै सकिन मायालु काली
छाँयाहरुमा आफै प्रतिबिम्बित थिएं
सोधि हेरें यो भित्री आत्मा सँग
म तिम्रो शहरमा अपरिचित थिएं ।

-nilima

Sunday, February 22, 2009

कथा मेरै गौथलीको

गाँउले भाषामा गुनगुनाउने मोरी
"ओह थ्याङ्क्स"
अँग्रेजी फलाक्ने भै छे रे

दाँतै नमाझि उसको बाल्यकाल बित्यो
अचेल
ओठै भरि लाली घस्छे रे

कपालमा जुम्राको मिटिङ बसाल्ने मोरी
स्ट्रेट स्यागी
कुन्नि के के हो लर्काउने भै छे रे

लुगाफाटोको त के कुरा
गर्नु खै
पेन्सिल हिल टकटक्याउदै हिड्छे रे

हर्के र बिर्खेको मायाजाल टोडेर
च्याट्टिङमा
झ्याप्पुले र सिन्के सँग डेटिङ गर्छे रे

मन बदलियो कि समय बदलिएको हो
कुन्नि
उ त आँफैलाई भुल्दै गैछे रे ।।।

-nilima

Tuesday, February 03, 2009

ॐ शान्ती !!!

यहाँ
आत्मा रोएको छ
हरेक आगन रोएको छ
घर घरमा बिलौना गर्दै
टोल छिमेक रोएको छ
रोदनको यही कोलाहल भित्र
एउटा बस्ती रोएको छ
बस्तीहरुको आँशुमा सिङ्गो
देश रोएको छ ,
उ पुछ्न चाहन्छ
ति आँशुका थोपाहरु
उ देख्न चाहन्छ
ति अधरमा मुस्कानहरु
अनि उ लेख्न चाहन्छ
हर्षका ति ईतिहासहरु
तर, अफसोच !
उसका पाईलाहरु
एक पछि अर्को लहरहरुमा
आफन्तहरुले नै तानिरहेछन
गासबासको लुछाचुंडिमा
ज्वालामूखी भै बिष्फोट हुँदैछन
भोको पेट गरीबी औ बेरोजगारी
एकापसमा कपर्डी खेले झै
हुतुतुतु गर्दै पछारिरहेछन
उ बिबश छ ,
नाम र दामको होडबाजी
तानातानिको खेलहरुमा
उ हारिरहेछ
कोही सत्तामा मदहोश घुमिरहेछन
कतै रगतको खोला बगिरहेछ
आफु आफु माझको प्रतिस्पर्धामा
सिङ्गो देश नै नाङ्गिन थालेकोछ
त्यसैले, भो पुग्यो अब बन्द गर सबै नाटकहरु
हेर्दा हेर्दै उ त थाकिसकेकोछ ,
भो नखेल
ति साँगुरा कुर्सीहरुमा
भाले जुधाई खेलहरु
अब त मै हुँ भन्ने कुखुरालाई पनि
प्राणघाती बर्डफ्लुले छोएकोछ
अनि दिन प्रतिदिन
हाम्रो आफ्नै भबिष्य
कहिल्यै निको नहुने गरि
भित्र-भित्रै धमिराले खाएकोछ
ॐ शान्ती !!!

-nilima

Wednesday, January 28, 2009

मदिरा

हजार गल्ति हुन्छन मायामा
सबै सबै तिमीलाई माफी छ
थकित यो मन बहलाइदिने त्यो
मदिराको प्याला काफी छ

जति पिउछु म रित्तिदै जान्छु
प्यालामा तिम्रै प्यार छ
आँखाहरु जब तिर्मिराउन थाल्छन
साथी यो सुनसान दिवार छ

थपिदिउं झै लाग्छ अर्को एक प्याला
स्पर्श नशाको अपार छ
बेहोशीमा जब हराउन थाल्छु
जादू यो तिम्रै संसार छ

डुबेको हुन्छु मदिराको आहालमा
जहाँ तिम्रो न्यानो साथ छ
जलिदिन्छन कलीला ओंठहरु
हर घुट्कोमा मीठो जवाफ छ ।।।

-nilima

Tuesday, January 27, 2009

तिमी-२

सितारको झंकारहरुमा खोजें तिमीलाई
तिमी संगीतको ताल सँगै झुमिरह्यौ
सागरको लहर माझ देखें तिमीलाई
तिमी मोती सरि गहिराईमा डुबिरह्यौ

देउरालीको चौतारीमा पर्खें तिमीलाई
तिमी भरिया दाइको सुसेलीमा भूलिरह्यौ
झ्याउकिरीको स्वरहरुमा खोजें तिमीलाई
तिमी रातको शून्यता सँगै चुपचाप भयौ

कहाँ कहाँ खोजिन मैले तिमीलाई
तिमी आकाशको जून झै मौन थियौ
को को सँग सोधिन मैले तिमीलाई
तिमी सुनसान शहरमा हराईरह्यौ

जब मिर्मिरेको चिसो सिरेटोमा तिमी
मीठो सन्देश बोकेर मेरो सामू आयौ
म हर्षबिभोर भै आँशु बगाईरहें ,
तिमी कबिता बनेर छचल्किरह्यौ ।।।

-nilima

Monday, January 26, 2009

भावना

भावना तिमी म सँग लुकामारी खेल्दै
अनन्त आकाश सम्म पुगिदिन्छ्यौ
भावना तिमी म सँग जिस्किदै मात्तिदै
बादलको घुम्टोहरुमा लुकिदिन्छ्यौ

भावना तिमी मेरा पाईलाहरु पछ्याउदै
संसार भरि म सँगै घुमिदिन्छ्यौ
भावना तिमी मेरो खुशीमा मुस्कुराउदै
संगी बनेर भलाकुसारी गरिदिन्छ्यौ

भावना तिमी किन यति नजिक छ्यौ म सँग
मेरा छांयाहरुमा तिमी झूमिरहेकी हुन्छ्यौ
भावना किन यति धेरै माया गर्छेउ मलाई
मेरा पिंडाहरुमा तिमी दुखित हुन्छ्यौ

भावना नपछयाउ है तिमी अब मलाई
हर घुम्तिहरुमा ब्यर्थै अलमलिने छ्यौ
भावना नआउ मेरा यि गन्तब्यहीन यात्राहरुमा
बिच बाटो मै तिमी अतालिने छ्यौ

भावना छोडिदेउ भो अब मेरा साथहरु
म सँग सधैं तिमी दुखी हुने छ्यौ
भावना बसिदेउ तिमी बरु कोही सुखीको मनमा
शायद धर्तिमा एउटा स्वर्ग तिमी भेट्याउने छ्यौ ।।।

-nilima

Friday, January 23, 2009

यादहरुमा तिमी

शरीरका यि रेशा-रेशाहरुमा
रक्त संचार भए जसरी
तिम्रा ति यादहरु सधैं
धड्कन बनेर डौडिरहेछ

आँखाका नानीहरुमा
नमेटिने "tattoo" खोपे जसरी
तिम्रा ति तस्बीरहरु सधैं
नजर भरि-भरि छल्किरहेछ

क्षितिजको पारी कतै
उडिरहेको चंगा जसरी
सम्झनाका डोरीहरु सधैं
पछेउरीमा अल्झिरहेछ

यो मनको कल्पनामा
तिमीलाई नै पाए जसरी
अधूरा ति सपनाहरु सबै
छाया बनेर झस्क्याइरहेछ।

-nilima

Thursday, January 22, 2009

गजल

सारंगीको धूनमा हो कि नाँचु जस्तो लाग्यो
ब्यथा भूली सधैं-सधैं हाँसु जस्तो लाग्यो

अँजुलीमा चोखो माया साँचु जस्तो लाग्यो
जिन्दगी यो तिम्रै निम्ती बाँचु जस्तो लाग्यो

मुटु दुख्ने पिरती यो गाँसु जस्तो लाग्यो
बिबशताका जन्जिरहरु भाँचु जस्तो लाग्यो

कसी लगाइ मनको माया जाँचु जस्तो लाग्यो
सत्ते-सत्ते तिम्रै निम्ती बाँचु जस्तो लाग्यो।।।

-nilima

Monday, January 12, 2009

तरंग यो मनको ।

कहाली लाग्दो
यो सुनसान रातको
चकमन्न अंध्यारो माझ
केही हराए झैं लाग्छ
स्वप्निल यि नयनहरु
कल्पनामा सुस्ताइरहेछन
तर, यो अशान्त मन
अबिरल सुस्केराहरु सँगै
भित्र-भित्रै कतै थाकिरहेछ,
कठैबरा !
शान्तिको नाममा
आफ्नै बलिदान दिनेहरु
युध्दको त्यो आहालमा
अमर सहिद हुनेहरु
यतिबेला शायद
झकिझकाउ स्वर्गको उज्यालोमा
अत्रिप्त प्यासहरु मेटाइरहेका होलान
धर्तिको यो दलदलमा
बिटुलिएका ति पाइलाहरु
पवित्र गंगा माझ
एक एक गर्दै पखाल्दै होलान,
तर, धिक्कार छ !
नयाँ नेपाल देख्न पाएको
अभागी ज्यूंदो मान्छे म,
बेदना र पिंडाहरुले निसास्सिदै
अभाबको भुमरीमा छट्पटिदै
श्रध्दान्जली स्वरूप उनैको सम्झनामा
एक धर्सो कलम चलाउन पनि
सूर्योदयको उज्यालो पर्खिनु परेको छ ।

-nilima

Friday, January 02, 2009

मुग्लान

पछेउरीमा दशैं आयो अँञ्जुलीमा तिहार आयो
आयो रमझम भन्दाभन्दै निष्ठूरीले छाडिगयो

टीका थाप्न जाउंला भनि बुट्टे चोली किनेकी थिए
भाइटीकामा लाउंला भनि मनले माला उनेकी थिए

हिजो जस्तो लाग्छ मलाइ रमाइलो त्यो गाउँघरको
आँखा भरि मुटु भरि रँगिचँगि सपना त्यो

मिठो खान पाउला भनि भुन्टे उफ्रि-उफ्रि हिड्थ्यो
आफ्नो भने ऋणको भारि बोक्न अझै गाह्रो हुन्थ्यो

बाबा आउलान नाना ल्याउलान संघार सधै कुरीबस्थ्यो
कस्तो दिन आयो बरै त्यही भुन्टे नि मुग्लान पस्यो

-nilima