Thursday, January 04, 2007

मास्टर बाबु (कथा)

भुन्टेको लागि एकजोडी स्कूले लुगा सिउनु थियो । मुखिया बाजेको को आगनमा हात फैलाएं । तर पुरानो तमसुक नच्याटी नयाँ न दिने रे । मैले अनेक बिन्ती गरें । मेरो भुन्टेलाई स्कूल पठाउछु मुखिया बा, मेरो हजुर फर्किए पछि चुक्ता गरुंला। अनेकौ दु:ख हरु देखाएं। तर पत्थरको मन पग्लिएन।

साहुनी आमैको जडेउरी हरु ले हुर्किएको मेरो भुन्टे दौराको फेंदले सिंगान पुछ्दै तोते बोलीमा बोल्थ्यो, "आमा म पनि स्कूल जाने।" उसको बालापन देखेर गहभरिको आँशु लुकाउदै म उसलाई फकाउन थाल्थे । "हुन्छ बाबा! तिम्रो बा आएपछि हामी पनि शहर जाने, तिमी स्कूल जाने, राम्रो नाना लाउने है ।" म सपनाहरुमा हराउन थाल्थे । आमा भोक लाग्यो भन्दै उ मेरो छातीमा लुट्पुटिन्थ्यो । म ब्युंझिएर सपना सम्हाल्न खोंज्थे ।

यसैगरी दिनहरु बितेको थियो । न मेरो भुन्टे स्कूल नै गयो । न मेरो हजुरको कुनै खबर नै आयो । भुन्टेलाई मास्टर बाबु बनाउने मेरो रहर थियो । तर यस्तै हो भने मेरो भुन्टेले साहुको हलो र जुवा सँग साट्नु पर्ने छ उसका कलीला हातहरु, म सोचिरहे कै थिएं । पल्लाघरे माईला कराउदै आयो ।
"ओ दिदी महिलाहरुको लागि भर्ती खुलेको छ रे । " अचानक मेरो ओठहरु हर्षित भयो । सोधें, कहाँको लागि माईला? " शहरमा उधोग धन्दाहरु खुल्दैछन रे महिला कालीगढ हरुको आबश्यकता पर्‍यो रे त्यसैले महिला भर्तीको लागि गाँउ बिकासमा टार आएको छ रे तिमी पनि जाने हो भने नाम लेखाई हाल है दिदी । "

मेरा पाइला हरु बतासको बेगमा चल्न थाले । गाँउ बिकासमा महिलाहरुको ठूलै भिडभाड थियो । म भिड छिचोल्दै अगाडी बढें । मेरो नाम लेखिदिनोस साब । म माहिली अनि मेरो भुन्टे पनि छ मेरो साथमा । लेखन्दासले कर्कर्ती हेर्दै बोल्न थाल्यो । केटाकेटी लान त पाईदैन माहिली दिदी । म अवाक भएं । मेरो भुन्टेको बोली हावामा गुन्जिन थाल्यो । आमा मलाई पनि लैजाउ है तिमी सँगै । मेरो मुटुमा गाँठो पर्‍यो । आँशुका ढिक्काहरु बर्सिन थाल्यो । म कठोर भएर बोल्न थाले । हुन्छ साब म माहिली भर्ती लेखिदिनोस ।

मेरो प्यारो भुन्टेलाई साहुनी आमाको जिम्मा लगाएं । साहुनी आमै म पैसा कमाएर हजुरलाई पठाउछु, मेरो भुन्टेलाई स्कूल पठाइदिनोस है । गाँउकी दिदी बैनी हरु सँगै बेहोशी मा बाटो काट्न थाले । ठूला ठूला घर जत्रा कहिलै नदेखेका मोटर गाडीहरु तन्नै थिए ।

म मजेत्रोको पोको बाट मकैको खाजा निकालेर चपाउन खोज्छु । तर, मेरो भुन्टेले के खायो होला अनयासै मेरो मुख ओभाउन थाल्छ । म मजेत्रोले मुख छोपेर रुन थाल्छु । मेरो भुन्टे कसरी बाँचु म तिमी बिना फेरी मेरो आँखामा भुन्टे मास्टर बाबु भएको सपना नाच्न थाल्छ । म आफै गुन्गुनाउन थाल्छु । म छिट्टै फर्किएर आउछु मेरो बाबा तिमी नरोएर बस है ।

म सपनाहरुमा नै एकत्रीत भएकी हुन्छु । मेरो भुन्टे बिनाको धेरै बसन्त हरु बितिसकेका हुन्छन । हुलाकी दाइले चिट्ठीको खाम लिएर थमाईदिन्छ । आहा! मेरो भुन्टेको फोटो । मेरो भुन्टे मुखिया बा को नाती जस्तै देखिएको हुन्छ चिट्ठी को सानो टुक्रा म्यानेजर साबलाई पढ्न लागाउछु । " आमा म हजुरको भुन्टे । म जाँचमा पास भएं आमा । अब छिट्टै मास्टर बन्दैछु । हजुर चाँडै फर्किएर आउनुस है ।" म हर्षबिभोर हुन्छु । म्यानेजर साब मलाई बिदा गरिदिनुहोस । मेरो भुन्टेले मलाई बोलाएको छ ।

म हिसाब किताब चुक्ता गरेर मेरो भुन्टेको लागि दौरा सुरुवाल ढाका टोपी एकसरो जम्मै नयाँ लुगा किन्न जान्छु । दोकाने नानीले गोरखापत्रको टुक्रामा लुगाहरु पोको पार्न थाल्छिन । झलक्क फोटोहरुको लस्करमा मेरो भुन्टेको बाउको अनुहार देख्छु । ए नानी त्यो फोटामा मेरो हजुर जस्तै मान्छे छन नि! के लेखेको छ पढिदेउ त । दोकाने नानीले पन्ना पल्टाएर पढ्न थाल्छिन । हालसम्म कास्मिरको लडाईमा वीरगती पाउने हरुको नाम सहित तस्बीरहरु । दोकाने नानीको हातबाट गोरखापत्र भुईमा खस्छ । बतासको झोंकाले कागजको टुक्रा फर्लक्क फर्लक्क पल्टाउदै लान्छ । म आँखै नझिम्काई तस्बीरलाई हेरिरहे कै हुन्छु । मेरो हजुरको अनुहार ओझेल पर्दै जान्छ ।
-nilima

No comments:

Post a Comment